सामसुङले बनाउँदैछ सबैभन्दा फास्ट प्रोसेसर

 बैशाख २५, २०७७

दक्षिण कोरियाली कम्पनी सामसुङ स्मार्टफोन बजारको नम्बर वान कम्पनी हो । तर सामसुङले स्मार्टफोन मात्र नभई अन्य धेरै खाले प्रडक्टहरू समेत उत्पादन गर्छ ।सामसुङले उत्पादन गर्ने प्रोडक्टहरूमध्ये मोबाइल चिप्स पनि एक हो । सामसुङले Exynos ब्राण्डबाट मोबाइल चिप उत्पादन गर्दछ ।

यद्यपि मोबाइल चिपको बजारमा क्वालकोम तथा मिडियाटेक ब्राण्डका चिपहरू सामसुङका एक्जिनोस चिपभन्दा धेरै लोकप्रिय छन्। त्यतिमात्र नभै हुवावेको किरिन चिपसेट समेत सामसुङभन्दा अगाडि छ । तथापि अब निकट भविष्यमै यो परिदृश्य बदलिनेछ । सामसुङले मोबाइल चिपको क्षेत्रमा नयाँ तरंग सिर्जना गर्दैछ ।

सामसुङले निकट भविष्यमै आफ्नो नयाँ Exynos 1000 प्रोसेसर ल्याउँदैछ । यो मोबाइल प्रोसेसर अहिलेसम्म उपलब्ध सबै कम्पनीहरूका प्रोसेसरभन्दा तीन गुणा फास्ट हुनेछ । अर्थात् अहिले सबैभन्दा फास्ट प्रोसेसरको रुपमा रहेको क्वालकोम स्नापड्रागन ८६५ लाई सामसुङको यो नयाँ प्रोसेसरले पछाडि पार्नेछ र विश्वकै सबैभन्दा तीव्र गतिको मोबाइल प्रोसेसर बन्नेछ ।

एक्जिनोस १००० प्रोसेसरमा सामसुङको RDNA NPU प्रविधिको प्रयोग गरिनेछ। जुन प्रविधिलाई कम्पनीले गत जुन महिनामा मात्रै स्वीकृत गरेको हो । यो प्रविधिले प्रोसेसरलाई उच्च गतियुक्त बनाउँदछ । सामसुङको यो नयाँ प्रोसेसर यो अंग्रेजी वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातसम्ममा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

काउन्टरप्वाइन्टको रिपोर्टअनुसार स्मार्टफोन एप्लिकेसन प्रोसेसरको क्षेत्रमा सामसुङ विश्वको तेश्रो ठूलो कम्पनी हो । जबकि एप्पल चौथो स्थानमा झरेको छ। खासगरी युरोप, ल्याटिन अमेरिका तथा भारतीय बजारमा सानदार बिक्रीसँगै सामसुङले मोबाइल चिपको बजारमा समेत आफ्नो पकड बढाउन सफल भएको हो ।

मोबाइल चिप मेकर कम्पनीमध्ये क्वालकोमा पहिलो स्थानमा रहेको छ । सन् २०१९ मा १.६ प्रतिशतको गिरावट व्यहोर्नु परेको भए पनि क्वालकोमले पहिलो स्थान गुमाउनु परेको छैन । गत वर्ष विश्वभर बिक्री भएका स्मार्टफोन एप्लिकेसन प्रोसेसरमध्ये एक तिहाइ क्वालकोम कम्पनीकै रहेका छन् । मध्यपूर्व र अफ्रिकालाई छाडेर अन्य सबै बजारमा क्वालकोमको दबदबा रहेको छ ।एजेन्सी

तपाईंको प्रतिक्रिया