हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

 बैशाख २८, २०७७

काठमाडौँ, २८ वैशाख

 पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल पश्चिमी भूभागहरुमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पश्चिमी भूभागलगायत मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक भइ पश्चिमी भूभागका केही स्थानका साथै मध्य र पूर्व एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको छ । सोमबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

तपाईंको प्रतिक्रिया