नेपाली सेनाका २ जनामा काेराेना पुष्टि,सङ्क्रमितकाे सङ्ख्या २ सय ७८ पुग्याे

 जेठ ०३, २०७७

तुलसीपुर,३ जेठ ।

शनिबार एकैदिन ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । त्यस्तै ३६ जना उपचारपछि घर फर्किएका छन् । शनिबार महोत्तरी, काभ्रे, कपिलवस्तु, बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुष, कपिलवस्तु शिवराज नगरपालिकाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै बर्दियाकी २८ वर्षीया महिला, सिरहा सखुवाका ३० वर्षीय पुरुष, वीरगञ्ज नगरपालिकाका २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगरका १८ वर्षीया युवती र चितवन गढौली १ की २५ वर्षीया युवतीमा शनिबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 यस्तै,नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे ।

तपाईंको प्रतिक्रिया