शरीरसँगै मन पनि स्वस्थ राखौं

 जेठ ०५, २०७७

कोभिड–१९ नयाँ भाइरस हो । यस भाइरसकाबारेमा धेरै कुरा पत्ता लाग्नै बाँकी छ । अध्ययनहरु भैरहेका छन् । अध्ययनबाट नयाँ-नयाँ तथ्य पनि थाहा भैरहेको छ । संसारभर फैलिएको कोभिड–१९ चाँडो सर्ने र सबै ठाउँ तथा उमेर समुहका व्यक्तिलाई सङ्क्रमण गराउन सक्ने भाइरस हो ।

भाइरस सङ्क्रमण भएकामध्ये  पाको उमेर तथा रोग प्रतिरोधी क्षमता कम भएकाहरुलाई धेरै असर गरेको देखिन्छ । 

नेपालमा भइरस र एण्टीबडी निर्माण

नेपालमा अहिलेसम्म कोरोना भाइरस कडा खालको देखिएको छैन । भाइरस फैलने क्रममा त्यसको अवस्था पनि फेरिने हुन्छ । अध्ययनकै क्रममा रहेको भए पनि अहिलेसम्म कडा खालको भाइरस भेटिएको हो । यस्तै सङ्क्रमण भएकाहरुमा विकास हुने एण्टीबडी वा रोग प्रतिरोधी क्षमता पनि कसैमा बन्ने र कसैमा नबन्ने देखिएको छ । किन यस्तो भैरहेको छ भन्ने कुरा अध्ययनकै क्रममा रहेकोले अध्ययनको निष्कर्षपछि मात्र यसबारे थप छलफल गर्न सकिन्छ । 

गर्भवती-सुत्केरीको जोखिम

अहिलेसम्म गर्भवती तथा सुत्केरीमा कोरोना भाइरसको जोखिम बढी भएको भन्ने कुनै प्रमाण छैन । नेपालमा सुत्केरीको ज्यान गएको भए पनि यसैलाई आधार बनाएर सुत्केरी तथा गर्भवतीहरु अरुभन्दा धेरै जोखिममा छन् भन्न मिल्दैन । ठूलो तथ्याँकमा गरिएका अधययनले मात्र यस्तो निष्कर्ष निकाल्ने हो ।

संसारमा अहिलेसम्म यस्तो देखिएको छैन । गर्भवती तथा सुत्केरीहरु धेरै जोखिममा छन् भनेर देखाइएका डरका कारण त्यस्तो अवस्थाका महिलालाई मानसिक रुपमा असर पर्न सक्छ । उनीहरुमा आत्बवल थप्नुपर्छ । गर्भवती तथा सुत्केरी महिलामा रोग प्रतिरोधी क्षमता नासिने भन्ने कुरा पुष्टि भएको छैन ।

६० वर्षभन्दा माथिका बृद्धबृद्धा, क्यान्सर, मधुमेह, एचआइभी एड्स, उच्च रक्तचाप लगाएतका दीर्घरोगी, नियमितरुपमा विभिन्न औषधिहरु प्रयोग गरिरहेका मानिसलाई सङ्क्रमण भैसकेपछि धेरै जोखिम ल्याएको वा ज्यानै गएको भने विश्वको तथ्याँकबाट देखिएको छ ।

रोग प्रतिरोधी क्षमता 

कोरोना मात्र हैन सबै रोगहरु रोग प्रतिरोधी क्षमता कमजोर हुनेहरुलाई लाग्ने हो । शरीरमा प्रतिरोधी क्षमता बलियो छ भने रोगहरुलाई हाम्रो शरीरको क्षमताले जितिदिन्छ र रोगले असर गर्न सक्दैन । कोरोना भाइरस शक्तिशाली नभएकोले धेरै मानिसको प्रतिरोधी क्षमताले भाइरसलाई जितेको कुरा संसारमा देखिएको छ । धेरै मान्छेहरुमा सामान्य लक्षण पनि नदेखिनु शरीरको प्रतिरोध क्षमताले जितेको हो । 

हामीले पनि आफ्नो शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुपर्छ । रोग प्रतिरोधी क्षमता बढाउन सन्तुलित भोजन गर्ने वा पोषणयुक्त खाना खानुपर्छ । यसको लागि छुट्टै कुरा खानुपर्छ भन्ने छैन हामीले खाइरहेका खानेकुराहरु नै खाने हो । यसलाई मिलाएर खानुपर्छ ।

उज्यालोबाट साभार

तपाईंको प्रतिक्रिया