भारतमा झन् बढ्दै काेराेना संक्रमण, एकै दिन ६ हजार संक्रमित थपिए

 जेठ ०७, २०७७

काठमाडाैँ, ७ जेठ 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएकाे भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या झन् बढ्दै गएकाे छ । त्यहाँ मंगलबार एकैदिनमा ६ हजार १४७ नयाँ संक्रमित थपिएका छन् । याे भारतमा एकै दिन संक्रमित पुष्टि भएकाे हालसम्मकै बढी संख्या हाे । साेमबार भने त्यहाँ ४ हजार ६३० नयाँ संक्रमित थपिएका थिए ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६ हजार ४७५ पुगेकाे वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३०२ पुगेको छ । त्यहाँ मंगलबार मात्र कोरोना संक्रमणबाट १४६ जनाकाे ज्यान गएकाे छ । साेमबार पनि त्यहाँ १३१ जनाले ज्यान गुमाए भने आइतबार १५४ को ज्यान गएको थियाे । संक्रमितमध्ये भारतमा ४२ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् ।

भारतमा अहिले ६० हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् । भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया