नेयमारभन्दा एमबाप्पे उत्कृष्ट

 जेठ ०७, २०७७

एजेन्सी – युभेन्ट्सका डिफेन्डर जर्जियो किएलिनीको नजरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का फ्रान्सेली स्टार केलियन एमबाप्पे ब्राजिलियन फरवार्ड नेयमार भन्दा उत्कृष्ट छन् । किएलिनीले सन् २०१६ मा एमबाप्पले खेलेको पहिलो पटक देख्दा उनी कुन ग्रहबाट आएका हुन् भनेर सोधेको स्मरण गरेका छन् । झन्डै २० वर्षदेखि माथिल्लो स्तरको फुटबल खेलिरहेका किएलिनीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको सन्यासपछि विश्व फुटबलको उत्कृष्ट खेलाडी एमबाप्पे हुने बताएका छन् ।

२१ वर्षे फ्रान्सेली फरवार्डले नेयमारलाई पछि पारिसकेको पनि किएलिनीले उल्लेख गरेका छन् । नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । किएलिनीले नयाँ आत्मकथामा एमबाप्पेका बारेमा उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण फुटबल स्थगित हुनु अघि एमबाप्पेले यो सिजन ३३ खेलमा ३० गोल गरिसकेका छन् ।

‘एमबाप्पे विश्व फुटबलका भविष्यका स्टार हुन् । रोनाल्डो र मेस्सीले खेल्न छाडेपछि बालोन डी ओर उनले नै जित्नेछन् । एमबाप्पले साच्चै अद्भुत खेलाडी हुन्’, उनले भनेका छन्, ‘मैले उनलाई पहिलो पटक २०१६-१७ को च्याम्पियन्स लिगमा मोनाकोबाट म्यानचेस्टर सिटीविरुद्ध खेलेको हेरेको थिए । प्रभावशाली थिए । मैले पहिलो हाफको अन्तिममा फावियो पाराटिकीलाई उनी को र कुन ग्रहबाट आएका भनेर सोधेको थिएँ ।’

तपाईंको प्रतिक्रिया