घरघरमै नमाज पाठ गरेर ईद उल फित्र मनाइँदै

 जेठ १२, २०७७

काठमाण्डाै, १२ जेठ

देशभरका मुसलमान समुदायले आज विशेष नमाज पाठ गरी ईद उल फित्र मनाउँदैछन् । अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ । मस्जिद, ईदगाह लगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएकाले घरमै परिवारका सदस्य बीच नमाज पाठ गरेर ईद उल फित्र मनाइँदैछ ।

यो पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुका चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । ठूलाबडासँग आशीर्वाद फोन तथा सामाजिक सञ्जालबाट नै लिन र घरघरमै नमाज पाठ गर्न मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीलाई अनुरोध गरेको छ । मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिनुभयो ।

वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो ।एक वर्षभित्र गरेका पाप कटाउन रमजान समेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरूले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

ईद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले ईद उल फित्रले नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

तपाईंको प्रतिक्रिया