थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८२ पुग्यो

 जेठ १२, २०७७

तुलसीपुर , १२ जेठ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका १ व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १ सय १२ पुगेको छ । पछिल्लो विवरणअनुसार पर्साको नारायण अस्पतालबाट १८ जना, पाटन अस्पताल बाट ५ जना, टेकुबाट १ जना र तौलिहवाबाट १ जना स्वास्थ्यकर्मी गरी २५ जना डिस्चार्ज भएका छन् ।

जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको विवरणअनुसार पीसीआर विधिबाट गरिएको नमुनाको संख्या ५१ हजार ६ सय ४१ पुगेको छ । त्यसैगरी, आरडीटी विधिबाट ९५ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ ।

तपाईंको प्रतिक्रिया