तलब नबढेपछि ईसीडी शिक्षक र विद्यालय कर्मचारी अन्दाेलित

 जेठ १६, २०७७

तुलसीपुर , १६ जेठ ।

गत आर्थिक वर्षमा प्रारम्भिक बाल विकास (ईसीडी) का शिक्षक र विद्यालयका कर्मचारीको तबल बढेन । यो वर्ष तलब बढ्नेमा उनीहरू आशावादी थिए । हिजाे बजेट भाषण भयो । तर, ईसीडी र विद्यालयका कर्मचरीको तलब बढेन । त्यसपछि उनीहरू निराश भए । उनीहरूले मासिक ६ हजार रुपैयाँमा काम गर्दै आएका छन् ।

काेराेना भाइरसका कारण लकडाउन भए पनि उनीहरूले सामाजिक सञ्जालमा सरकारको विरोध गर्दै तलब बढाउन माग गरेका छन् । सरकारले तलब नबढाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । सामाजिक सञ्जालमा उनीहरूले तलब बढाउन माग गर्दै ‘न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न दबाब दिऔँ’ भन्ने अभियान चलाएका छन् ।

उनीहरूले शिक्षक महासंघका अध्यक्ष, सह–अध्यक्ष र महासचिवलाई न्यूनतम पारिश्रमिकको व्यवस्थाका लागि पहल गर्न दबाब दिएका छन् ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले प्रारम्भिक बालविकासका शिक्षक र विद्यालय कर्मचारीमाथि अन्याय भएको बताए ।

अध्यक्ष थापाले अब आन्दोलनको विकल्प नरहेको बताए । ‘अहिले वातावरण असहज छ,’ उनले भने, ‘सहज भएपछि आन्दोलनमा जान्छौँ ।’ ईसीडीमा ३० हजार शिक्षक र विद्यालयमा १५ हजार कर्मचारी छन् ।

तपाईंको प्रतिक्रिया