तत्कालै उद्दार गर्नुपर्ने २४ हजार बढिको नामावली तयार

 जेठ २७, २०७७

तुलसीपुर,२७ जेठ ।
कोभिड–१९ र बन्दाबन्दीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीमध्ये सरकारले तत्कालै उद्दार गर्नुपर्ने २४ हजार भन्दा धेरैको नामावली तयार पारेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १ सय ४८ छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई बुझाइएको विवरणअनुसार भारत बाहेक ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा कम लाओसमा २ जना छन् भने सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना छन् । अमेरिकाबाट ६४६, अष्ट्रेलियाबाट १३००, बेलायतबाट ४९ र क्यानडाबाट ७८ जना उद्दार गर्नुपर्ने सूचीमा छन् । अमेरिका, बेलायत, क्यानडा र अष्टे«लिया जस्ता देशबाट नेपाली नागरिकलाई तत्कालै उद्दार गर्नुपर्ने भनेर सम्बन्धित नियोगले विवरण पठाएका छन् ।

खान र बस्न समस्या परेका, रोजगारी गुमाएका र कम्पनीले टिकट नदिएका तथा विभिन्न संकटमा परेकाहरुलाई यो सूचीमा समावेश गरिएको छ । प्राथमिकताको आधारमा नेपाल ल्याउने प्रयोजनका लागि विदेशस्थित नियोगहरुबाट प्राप्त तत्काल उद्दार गरिनुपर्ने नेपाली नागरिकको विवरण सीसीएमसीमा पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया