लकडाउन खुकुलो: के खुले के खुलेनन्

 जेठ २९, २०७७

काठमाडौं,२९ जेठ ।

८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ ।

त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।

यस्तै पसल र डिपार्टमेन्ट स्टोरहरु खोल्न पाइनेछ । तर सपिङ मलहरु खुला हुने छैनन् । रेष्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरु बन्द नै रहनेछन् ।

सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर विहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।

विद्यालय तथा शैक्षिक संस्थाहरु भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सञ्चालन गर्न नपाइने क्रियाकलापहरु यस्ता छन् :

१. शैक्षिक संस्थाहरु (यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु)

२. अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु ।

३. तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत

४. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार ।

५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।

६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल

७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना ।

८. स्पा, सैलुन र ब्यूटीपार्लर

१०. स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु

११. सपिङ मलहरु

१२. समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु

१३. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु

१४. यात्रुबाहक सार्वजनिक सवारी साधन । पर्यटक सवारी साधनसमेत ।

१५. काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।

तपाईंको प्रतिक्रिया