कोरोनाविरुद्ध खोपको आशा

 जेठ ३२, २०७७

काठमाडौं, ३२ जेठ । 

कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी दिएको छ । अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले गरिरहेका छन् । 

यो खोप युरोपेली संघका सदस्य देशलाई दिइनेछ । कम्पनीले खोपका उत्पादन बढाउने कोशिस भइरहेको र कोरोना महामारी नियन्त्रणका लागि यो खोप बिना नाफा नै आपूर्ति गरिने जनाएको छ । सो कम्पनीले यो वर्षको अन्त्यसम्ममा खोपको आपूर्ति सुरु हुने विश्वास व्यक्त गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले भने, ‘यसबाट सही ढंगले अघि बढेमा युरोपका करोडौं मानिसले खोप पाउने निश्चित भएको छ । गर्मीयाम सकिने बेलासम्ममा हामीले यो विषयमा जानकारी पाउनेछौं ।  पास्कल सोरियोले खोप बनाउनका लागि सुरुवाती तथ्यांकका आधारमा यो सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार अलायन्सले युरोपेली आयोगसँग मिलेर सबै देशमा खोप पुर्‍याउन काम गर्नेछ । यो सम्झौता कति रकममा भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि इटालीको स्वास्थ्य मन्त्रालयको सुत्रका अनुसार यो सम्झौताका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्यान्ड्सले रकम दिनेछन् भने अन्य राष्ट्रपनि सहभागी हुन सक्नेछन् । कोरोना भाइरसको नियन्त्रणका लागि अहिलेसम्म कुनै खोप बनेको छैन । यस्तो अवस्थामा यो खोप कति प्रभावकारी हुन्छ भन्नेबारेमा कुनै प्रमाण भने छैन ।

तपाईंको प्रतिक्रिया