एसईईको वैधता र प्रमाणपत्रको गुणस्तरीयतामा सम्झौता नगरिने

 असार ०२, २०७७

तुलसीपुर,२ असार ।

सरकारले एसईईको परीक्षा नगराई प्रमाणपत्र दिने आफ्नो निर्णयमा वैधता र गुणस्तरीयतामा कुनै पनि सम्झौता नगरिने जनाएको छ । अन्तरराष्ट्रिय मापदण्डका आधारमा नै परीक्षा बोर्डले गे्रडिङ गरी प्रमाण पत्र दिने भएकाले यसमा कुनै शङ्का नगर्न सरकारले भनेको हो । त्यसका लागि सबै कार्यविधि बनाएर परीक्षा बोर्डलाई पठाइएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्डमा विद्यार्थीले प्राप्त गरेका अङक पठाउने मुख्य जिम्मेवारी विद्यालयमा कार्यरत शिक्षकलाई भएकाले शिक्षकहरुबाट कुनै पनि प्रकारको अनियमितता हुन्छ भन्ने सरकारले नसोचेको बताउनुभयो । मन्त्रालयका प्रवक्ता शर्माले विद्यालयले पठाएको अङ्क, परीक्षा बोर्डले बनाएको प्रमाणपत्रलाई पुष्टि गर्नका लागि अर्को संयन्त्र स्थापना गरिने जानकारी दिनुभयो ।

६ दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष एसईई परीक्षा सञ्चालन नगरी विद्यार्थीले पाएको नम्बरका आधारमा प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया