रुकुम घटना: सबै प्रतिवादीको बयान सकियो

 असार ०४, २०७७

रुकुम पश्चिम, ४ असार ।

चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि बिहीबार पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो।

पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । बयान सकिएपछि अब थुनछेक बहस शुरु हुनेछ ।

जाजरकोटका पाँच र रुकुम (पश्चिम)का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ । यसैबीच फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया