झ्यालको छड बङ्ग्याएर क्वारेन्टाईनबाट भागिन् किशोरी

 असार ०६, २०७७

तुलसीपुर,५ असार ।

राजविराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाइएको थियो । अहिले सोही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् ।

सबै सुतेका बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए । यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।

झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए । भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् । राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी दुई महिनाकी गर्भवती छन् ।

तपाईंको प्रतिक्रिया