म्यानचेस्टर युनाइटेड र टोट्टनहाम बराबरी

 असार ०७, २०७७

लन्डन : इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोट्टनहामले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। घरेलु मैदानमा सुरुआती अग्रता लिएर पनि टोट्टनहाम अंक बाँड्न बाध्य बनेको हो। खेल सकिन नौ मिनेट बाँकी छँदा युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए।

यसअघि रोचक खेलमा टोट्टनहामले २७औं मिनेटमा सुरुआती गोल गरेको थियो। स्टेभन बर्गविजनले गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए। पहिलो हाफमा लयमा देखिएको टोट्टनहामले दोस्रो हाफमा भने लय गुमाएको थियो। टोट्टनहामले पहिलो हाफमा थप तीनवटा अवसर खेर फालेको थियो।

यता पहिलो हाफमा कमजोर देखिएको युनाइटेडले दोस्रो हाफमा आक्रामक प्रदर्शन गरेको थियो। घरेलु टोलीलाई दबाब दिएको युनाइटेडले ८१औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो। टोट्टनहामका गोलरक्षक एरिक डियरले डिबक्सभित्र पउल पोग्वालाई लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो। उक्त पेनाल्टीलाई फर्नान्डेजले सही सदुपयोग गरेका थिए। त्यसपछि इन्जुरी समयमा युनाइटेडले अर्को मौका पाए पनि सदुपयोग गर्न सकेन। मासन ग्रिनउड पोस्ट नजिक चुक्दा युनाइटेड जितबाट टाढा रहेको थियो।

बराबरीसँगै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ। युनाइटेडले ३० खेलबाट ४६ अंक बनाएको छ। समान खेलबाट ४२ अंक बनाएको टोट्टनहाम आठौं स्थानमा छ। यसैगरी शुक्रबार राति नै भएको अर्को खेलमा मध्यम टोली साउथह्याम्पटनले रेलिगेसनको चपेटामा रहेको नर्विच सिटीलाई ३–० गोलले हरायो।

एकपक्षीय खेलमा साउथह्याम्पटनले सबै गोल दोस्रो हाफमा गरेको थियो। साउथह्याम्पटनलाई जिताउन ड्यानी इङ्सले ४९औं, स्टुअर्ट आम्सट्रङले ५४औं र नाथन रेडमोन्डले ७९औं मिनेटमा गोल गरे। जितसँगै ३७ अंक बनाएको साउथह्याम्पटन १३औं स्थानमा छ। २१ अंक बटुलेको नर्विच सिटी तालिकाको अन्तिममा छ।

तपाईंको प्रतिक्रिया