न खाने अन्न छ, नत उपचार गर्ने पैसा

 असार ०८, २०७७

तुलसीपुर,८ असार ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ अमृतपुर टोल निवासी पार्वती विक आर्थिक अभावका कारण उपचार गर्न पाएकी छैनन् । उमेरले ६० बर्ष पुगेकी पार्वती विगत दुई बर्ष देखी मृगौला रोगबाट पिडित छिन । यस अघि नेपालगन्ज र काठमाडौ गरी दुई पटक डाईलाईसिस गरेकी उनले अहिले आर्थिक अभावका कारण उपचार गर्न नसकेको उनका आफन्तीले बताएका छन् । प्रत्येक बर्ष एक पटक वा दुई पटक सम्म डाईलाईसिस गर्नुपर्ने भएपनि आथिर्क अभावका कारण उनले विगत एकवर्ष देखी उपचार गराउन सकेकी छैनन् ।

उनका श्रीमान दोस्रो विवाह गरेका छन् । उनका छोरा ,बुहारी ,नातीहरु पनि छन् । तर अहिले उनको घरमा नातीनातीना सहित तिन जनमा मात्रै रहेका छन् । छोरा विगत लामो समय देखी भारतमा मजदुरी काम गर्दै आएका छन् । बुहारी भने गएको चैत ९ गते माईतीघर बुटवल गएको र अहिले सम्म घर नफर्किएको उनि बताउछिन । उपचार गराउन समस्या एकतिर छ भने अर्कोतिर नातीनातीना पालनपोषण गर्न समेत मुस्किल परेको छ ।

नातीनातीनी सानै उमेरका भएकाले उनीहरुलाई साँझ विहानको छाक टार्न समेत मुस्किल परेको छ । पार्वतीले उपचार नपाएर ओछ्यानमै छटपटाई रहेको अवस्थामा ती बालबाबालिकालाई साँझ विहान के खुवाउने भन्ने समस्या छ । न खाने अन्न छ नत उपचार गर्ने पैसा पार्वतीले भनिन । पार्वतीका नाती आठ बर्षिय बालकले उनलाई सहारा दिईरहेका छन् ।

उपचार पाए निको हुने आसमा रहेकी पार्वतीले आफनो घरको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै उपचारका लागी सहयोग गरिदिन आग्रह गरेकि छन् । घरमा खानेखर्च नभएपनि स्थानिय सरकारले केहि राहत दिएको त्यो अपुग भएपछि स्थानिय बासीन्दा र आफन्तीले खाद्यन्न सहयोग गर्दै आएको स्थानिय गोकर्ण विश्वकर्माले जानकारी दिएका छन ।

तपाईंको प्रतिक्रिया