सोती घटना: २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

 असार १०, २०७७

तुलसीपुर , १० असार ।

रुकुम जिल्ला अदालतले सोती घटनामा संलग्न रहेको आरोप लागेका वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरवहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । मुद्दा पूर्पक्षका लागि थुनामा जानेहरुमा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमवहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपवहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६ (३) रहेका छन् ।


यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नविनकुमार घर्तीमगर, विराज पुनमगर, भीमबहादुर पुनमगर, रमित पुनमगर, सर्वजित भन्ने सविन पुन र मोहन पुनमगरलाई पनि कारागार चलान गर्न आदेश भएको स्रेष्तेदार कृत बहादुर बोहराको भनाई छ । युवतीकि अामा एक लाख धरौटीमा रिहा गर्न अादेेेश दिईएकाेे छ । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् ।

प्रतिवादीहरु तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर बुढा फरार छन् । चौरजहारी नगरपालिका–८ सोतीमा १० जेठमा प्रेमिका लिन गएका जाजरकोटका नवराज बिक सहित घटनामा जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ जनाको ज्यान गएको थियो । उनिहरुकाे कुटपिटबाट ज्यान गएकाे प्रहरी अनुसन्धानले देखाएको छ ।

घटनामा संलग्न रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैद देखि आजीवन कारावाससम्मको सजायको मागदावी गर्दै मुद्दा दर्ता गराएको थियो । मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस सकिएपछि आज थुनछेक आदेश जारी भएको हो । पक्राउ परेका २९ जना मध्ये २ जना नाबालकलाई भने बालसुधार गृहमा पठाउन यसअघि नै अदालतले आदेश दिईसकेको थियो ।

तपाईंको प्रतिक्रिया