सल्यानका २० संक्रमित लुहापिङ आइसोलेसनमा

 जेठ २२, २०७७

तुलसीपुर,२२ जेठ ।
सल्यानका तीन स्थानिय तहमा भेटिएका २० जना कोरोना संक्रमितलाई लुहापिङमा रहेको आइसोलेसनमा राखिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, कुमाख गाउपालिका र कपुरकोट गाउपालिकामा भेटिएका कोरोना संक्रमितहरुलाई लुहापिङ स्थित सल्यान बहुमुखी क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा ल्याएर राखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका प्रमुख डा. अर्जुन कुमार बुढाले बन्गाडका १७ संक्रमित मध्ये १२ जना, कुमाखका २ जना र कपुरकोटका १ जनालाई लुहापिङ स्थित आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । यस्तै बन्गाडका बाँकी ५ जनालाई ल्याउनको लागी गाडी गएको र आज रातीसम्म नै ल्याएर राखिने उहाँको भनाई छ । दार्मा गाउपालिकामा भेटिएका ९ जना संक्रमितहरुलाई भने भोली शुक्रवार ल्याएर लुहापिङ स्थित आइसोलेसनमा राख्ने गरी तयारी भैरहेको उहाँको भनाई छ ।


नेपाली सेनाको सहयोगमा सल्यान बहुमुखी क्याम्पसमा दुई दिनको अवधिमा सय शश्याको आइसोलेसन निमार्ण गरिएको छ । जिल्लामा अहिले सम्म ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।।

तपाईंको प्रतिक्रिया