के साँच्चै सलह खान हुन्छ त ?

 असार २०, २०७७


काठमाडौं, २० असार ।

पछिल्लो समय सलह खरिद बिक्री गर्ने क्रम बढेको छ । यसलाई पकाएर खाने प्रवृत्ति पनि देखिएको छ । सलह खान हुन्छ भन्नेले खान थालेका छन् । खान हुन्न कोरोना जस्ता भाइरस फैलाउन सक्छ भन्ने अर्काथरीले नखान प्रेरित गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका कीट विज्ञ डा. प्रेमबहादुर बुढा सलहमा उच्च प्रोटिन हुने भएकाले खान हुने बताउँछन् ।

सलह भगाउन प्रयोग गरिने विषादी र विभिन्न देश डुलेर आएकाले यसमा रोग वा भाइरसको अंश हुन्छ कि भन्ने मानिसमा एक प्रकारको आशङ्का रहेको छ तर उनी त्यो कुराले महत्त्व नराख्ने उल्लेख गर्छन् । उनले कहीँ कतै विषादी प्रयोग गरिएको सुनिएको छ तर त्यसले सलहलाई खासै असर गर्दैन, नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन छ भन्नुभयो । वर्षा मौसम रहेको र उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी गरे ।

उनका अनुसार नेपालमा आएको सलह तेस्रो जेनेरेसनको हो । अफ्रिकाबाट उडेको सलहको तेस्रो पुस्ता भएकाले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको उनको भनाइ छ । अर्का कीट विज्ञ सञ्जय विष्टले मानिसले खान हुने÷नहुने सुुझाव नदिने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताए । किसान र उद्यमीलाई त्यही सुझाएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

तपाईंको प्रतिक्रिया