५० प्रतिशत अनुदानमा किसानलाई पावर टिलर

 असार २१, २०७७

तुलसीपुर, २१ असार।

कृषिलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धिका लागि स्थानीय सरकार प्रतिवद्ध भएर लागेको नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । जिविकोपार्जनसँग मात्रै जोडिएको कृषिलाई व्यवसायीकरणसँग पनि जोड्नका लागि नयाँ प्रविधिमा जोड दिइएको उनको भनाई थियो ।

उपमहानगरपालिकाले समुह र सहकारीमार्फत ठूलो परिमाणमा कृषि गर्नेहरुलाई अनुदानमा पावर टिलर वितरण गर्नका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले प्रविधिको उपयोगीता र आवश्यकतालाई मध्यनजर गरेर थप कार्यक्रम अगाडि वढाइने वताए ।
प्रविधिको प्रयोगले खाद्यान्न उत्पादनमा अहम् भुमिका खेल्ने उनको विश्वास थियो ।

कृषिमा आत्मनिर्भर हुनुका साथै निर्यात वढाउनका लागि स्थानीय सरकारले कृषि लक्षित कार्यक्रम अगाडी वढाएको उनको भनाई थियो । “किसानको सुविधालाई ध्यानमा राखेर हरेक वडामा कृषि इकाइहरु गठन गर्न थालेका छौ” नगरप्रमुख पाण्डेले भने । उनले अनुदानमा दिएको कुराको सही सदुपयोग हुने विश्वास समेत व्यक्त गरे ।

उपमहानगरपालिकाले ठूलो परिमाणमा कृषि गर्ने समुह र सहकारीका लागि ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गरेको हो । उपमहानगरपालिकाले प्रति पावर टिलर ९७ हजार ५ सय अनुदान दिएको हो । यसरी अनुदान पाउँनेहरुमा वडा नम्वर ३ को सिद्धबाबा कृषि सहकारी संस्था,वडा नम्वर ८ को थर्कोट कृषि सहकारी सँस्था, वडा नम्वर १८ को विजौरी साना किसान कृषि सहकारी संस्था, वडा नम्वर ७ को नमुना सहकारी संस्था र सोमनाथ कृषि सहकारी संस्था रहेका छन् ।

कार्यक्रममा अर्थ समिति सदस्य माधव वलीले कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि कार्यक्रमले सहयोग गर्ने वताए । कार्यक्रममा कृषि विकास शाखा प्रमुख धनराज गौतमले अन्य अनुदानका कार्यक्रम पनि सञ्चालन भइरहेको वताए । कार्यक्रमको सहजिकरण कुलराज चौधरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया