नेपालमा कोरोना संक्रमित ९९ प्रतिशत लक्षणविहीन

 असार २४, २०७७

तुलसीपुर,२४ असार ।
नेपालमा कोरोना भाइरस सङ्क्रमण लक्षण विना नै देखिएकाले थप चुनौती देखिएको छ । ९९ प्रतिशत कोरोनाभाइरसका लक्षणविहीन बिरामी रहेका देखिएका छन् । पुष्टि भएका ९७ प्रतिशत बिरामीमा सङ्क्रमण आयातित छ । नेपालमा १६ हजार १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा जम्मा ४ सय ८५ जना मात्रै नेपालमै सङ्क्रमण भएका व्यक्ति हुन् ।

जसमध्ये अधिकांश लक्षणविहिन बिरामी फेला परेकोले यसबाट समुदायमा सङ्क्रमण फैलिने जोखिम बढेको स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार दुई लाख ६० हजार व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएकोमा ९९ प्रतिशत बिरामी लक्षणविहीन फेला परेका छन् । उपत्यका बाहिर विदेशबाट आएका धेरै भएपनि काठमाडौंमा भने कम छन् ।

काठमाडौँमा पुष्टि भएका सङ्क्रमितमध्ये विदेशबाट आएका ७९ प्रतिशत छन् । काठमाडौँमा साउदी अरब, कुवेत, माल्दिभ्स लगायतका देशबाट उद्धार गरी ल्याइएका बिरामीको सम्पर्कमा आएका केही व्यक्तिहरूमा सङ्क्रमण पुष्टि भएको पाण्डेले बताउनुभयो । हालसम्म करिब २० हजार नेपाली विदेशबाट नेपाल ल्याइएको छ । बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारमा सरकारले गम्भीर त्रुटि गर्दा काठमाडौँ उपत्यका लगायत बिभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेको पाइएको छ ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने निर्णय गरे पनि उनीहरुलाई नेपाल ल्याउँदा सावधानी नअपनाइएका कारण स्वस्थ रहेका नेपालीमा पनि कोरोना फैलिएको सरकार मातहतका निकायले निष्कर्ष निकालेका छन् ।

तपाईंको प्रतिक्रिया