तुलसीपुरको बजेट पारित, गाउँका योजनामा अब १० प्रतिशत श्रमदान

 असार २६, २०७७

तुलसीपुर, २६ असार ।
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भएको छ । सातौ नगर सभाको तेस्रो बैठकले बजेट पारित गरेको हो । बैठकले अर्थ समिति संयोजक माधव वलीले प्रस्तुत गरेको आर्थिक विधेयक र लेखा समिति संयोजक राजु आचार्यले प्रस्तुत गरेको विनियोजन विधेयक पनि सर्वसम्मतले पारित गरेको छ । नगर सभाको बैठकले तुलसीपुर उपमहानगरपालिका अन्तर्गत सञ्चालन हुने योजनामा शहरी क्षेत्रमा कम्तीमा २५ प्रतिशत श्रमदान र ग्रामिण भेगमा कम्तीमा १० प्रतिशत श्रमदान गर्ने नीति समेत पारित गरेको छ । यो भन्दा अगाडी सबै क्षेत्रमा कम्तिमा २५ प्रतिशत श्रमदानको व्यवस्था गरिएको थियो ।

यसैगरी नगर सभाले वडा नम्वर ४ मजुवामा रहेको वडा कार्यालयलाई सबैलाई पायक पर्ने गरी बनहरीमा सार्ने निर्णय समेत गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र सुरक्षा व्यवस्थालाई सुदृढ पार्नका हरेक टोलमा टोल सुरक्षा समिति गठनका साथै अवैध घरेलु मदिरा नियन्त्रणका लागि १९ वटै वडामा प्रहरीसँग समन्वय गरेर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका कार्यकाल सकिएका सबै संघसंस्था र विद्यालय व्यवस्थापन समितिले लकडाउन घोषणा अन्त्य भएको ३ महिना भित्रमा अनिवार्य रुपमा निर्वाचन गर्नुपर्ने निर्णय सभाले गरेको छ ।

कार्यकाल सकिएका संघसंस्थाले गरेका प्रशासनीक र मर्मतको काम बाहेक अन्य कामहरु वैध नहुनुका साथै कार्यकाल सकिएका विद्यालय व्यवस्थापन समितिको हकमा नयाँ कार्यसमिति नवन्दा सम्म पदेन सदस्यबाट काम अगाडि बढाउने निर्णय पनि गरिएको छ ।

तपाईंको प्रतिक्रिया