नेकपाको विवाद मिलाउन त्रिपक्षीय संवाद

 साउन ०१, २०७७

तुलसीपुर,१ साउन ।
नेकपाको विवाद मिलाउन आजदेखि त्रिपक्षीय संवाद हुने भएको छ । दुई अध्यक्षको छलफलबाट निस्कर्ष आउन नसकेपछि आज त्रिपक्षीय छलफल हुन लागेको हो । भोलि शुक्रबार स्थायी कमिटी बैठकअगाडि आज नेकपामा त्रिपक्षीय संवादबाट विवाद समाधान गर्न खोजिएको छ ।

डेढ सातादेखि लगातार संवादमा रहेका प्रधानमन्त्री शर्मा केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छलफलमा आज वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनुहुनेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अध्यक्षद्वय ओली र प्रचण्डबाहेक वरिष्ठ नेता नेपालबीच सहमति जुटाउने प्रयासस्वरूप वार्ता हुनेछ । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।

एक्लाएक्लै भइरहेको दुई अध्यक्षको छलफलमा हिजो महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागि हुनुभएको थियो । दुई अध्यक्षबीच लेनदेनमा सहमति नभई विधी अनुसार समाधान खोज्नुपर्ने नेपाल पक्षमा रहेका स्थायी कमिटीका सदस्यहरूको निस्कर्ष छ ।

तपाईंको प्रतिक्रिया