दाङमा वन पुनःस्थापना अभियानको सुरुवात

 साउन ०७, २०७७

दाङ, ७ साउन ।

डिभिजन वन कार्यालय दाङले वन पुनःस्थापना अभियान थालेको छ । विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा बृहत्तर बृक्षारोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । यो अभियान अन्तरगत यसबर्ष एक सय ६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना अन्तरगत बृक्षारोपण थालिएको छ ।

यसैक्रममा मंगलवार घोराही उपमहानगरपालिका वडा नम्बर २ को गौरी सामुदायिक वनको करिब ६० बिगाह क्षेत्रफलमा २८ हजार बिरुवा रोपिएको छ । दाङका विभिन्न स्थानमा रहेका सामुदायिक वन तथा नदी उकास क्षेत्र संरक्षण गरी वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय दाङले वन पैदावारको सरंक्षण र हरित क्रान्तिका लागि पर्यावरणीय, पर्यापर्यटनको विकास तथा आय आर्जनमुखी विरुवा रोपण गर्दै स्थानीय उपभोक्तालाई जागरुक बनाउन वर्षायाम शुरु भएयता विभिन्न स्थानमा गरी वन वनस्पति तथा जुडिबुटी प्रजातिको विरुवा रोपण गरेको हो ।

वन संरक्षण गरी आयआर्जनको रुपमा वनलाई प्रयोग गर्न सामुदायिक वन समुहका उपभोक्तालाई कृयाशील बनाउँदै विरुवा रोपण थालेको छ । चुरे पुनर्स्थापन अभियान सफल पारौं भन्ने मुल उद्देश्यले बृहत्तर वृक्षारोपण अन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधि सभाका सांसदसम्मले एकै पटक सो क्षेत्रमा वृक्षारोपण गरेका छन् ।

उनीहरुले मौवा, आँप, खयर र बाँसका गरी करीव २८ हजार बिरुवा रोपिएको छ । भूक्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा विरुवा रोपण गरिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया