आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ

 साउन ०८, २०७७

तुलसीपुर,८ साउन ।
रुकुम पश्चिममा आफ्नै सहोदर दाइको हत्या गरेको आरोपमा प्रहरीले भाइलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–९, गुर्तालगाउँका ४५ वर्षीय हरिबहादुर मल्लको हत्या गरेको आरोपमा उनका भाइ ३५ वर्षीय भीम भनिने भूपेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

हत्याको शंकामा भाइलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान बाँकी रहेकाले अनुसन्धानपछि मात्र घटनाबारे थप खुल्ने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।

हरिबहादुरको शव घरनजिकै गाडिएको अवस्थामा प्रहरीले फेला पारेको उनले बताए । केही दिनअघि नै टाउको गिँडेर घरनजिकैको बारीमा गाडेको अवस्थामा शव फेलापरेपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रोकायको भनाइ छ । केही वर्षदेखि दुवै दाजुभाइको मानसिक सन्तुलन बिग्रिएको स्थानीयले बताएका छन् ।

तपाईंको प्रतिक्रिया