स्कारपियोको ठक्करबाट दाङमा दुई जनाको ज्यान गयो

 साउन ११, २०७७

ओमप्रकाश गुप्ता , सिसहनियाँ ११ साउन ।
दाङ देउखुरीमा स्कारपियोको ठक्करबाट घाइते दुई जनाको उपचारका क्रममा ज्यान गएको छ । लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पौने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा राजकुमार चौधरी र सोही गाउँका रेमलाल चौधरीका ८ वर्षका छोरा निसान चौधरी गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये गाउँ अगुवा राजकुमार चौधरीको कोहलपुरमा उपचारका क्रममा गएराती निधन भएको र ८ वर्षका बालक निसान चौधरीको बुटवलमा उपचारकै क्रममा रातीनै निधन भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ । अन्य ३ जना घाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ, २२ वर्षकी गौरी चौधरी र २ वर्षकी छोरी लक्ष्मी चौधरी रहेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार गाडी चालकले मादकपदार्थ सेवन गरि करिव १०० को स्पिडमा कुदाएकोले सो दुर्घटना भएको बताएका छन् । ठक्कर दिने गाडी नालामा पल्टिएको छ भने चालकलाई प्रहरी चौकी सिसहनियाँले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिक्रिया