कांग्रेसले क्रियाशील सदस्य दोब्बर बनाउने

 साउन २२, २०७७

काठमाडौं,२२ साउन ।

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समिति गठनमा विवाद देखिएको छ । क्रियाशील सदस्यता शतप्रतिशत बढाउन सहमत संस्थापन र रामचन्द्र पौडेल समूह छानबिन समितिमा भने विभाजित भएका हुन् ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा क्रियाशील सदस्यता साविकको संख्यामा १०० प्रतिशतसम्म बढाउन सकिने व्यवस्था गर्ने सहमति भएको छ । यसअघि ५० प्रतिशत मात्र थप्न सकिने भन्ने थियो ।

१३ औं महाधिवेशन हुँदा कांग्रेसमा ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए । नयाँ सहमतिअनुसार यो संख्या १० लाख पुग्न सक्ने नेताहरु बताउँछन् ।

एकता प्रक्रियामा आएकाहरुलाई केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बहस छ । संस्थापन पक्ष केन्द्रबाट दिन चाहन्छ, तर रामचन्द्र पौडेल पक्षले वडा तहबाट सिफारिस भएर आएपछि मात्र केन्द्रले दिनुपर्ने मत राखेका छन् ।

यो भन्दा ठूलो विवाद वितरण गरिएको क्रियाशील सदस्यताबारे छानबिन गर्ने समितिमा छ । कांग्रेसमा नरहरि आचार्यको संयोजकत्वमा ७ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने सहमति भएको थियो । यसका लागि संस्थापनबाट ३, पौडेल समूहबाट दुई र सिटौला समूहबाट एक जना राख्ने भनिएको थियो ।

तर स्वास्थ्यका कारण नेता आचार्यले समितिमा बसेर संयोजन गर्न असमर्थ रहने बताएका छन् । सभापति देउवाले आफू निकट रमेश लेखकलाई संयोजक बनाउने प्रस्ताव राखेका छन् । तर पौडेल र सिटौलाले त्यसको विरोध गरेका छन्

तपाईंको प्रतिक्रिया