प्रधानमन्त्रीका सल्लाहकार रिमालले श्रेष्ठलाई भने, ‘प्रवक्ता पदको लाज त जोगाउनुस्’

 साउन २३, २०७७

काठमाडौं : प्रधाननमन्त्री केपी ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्‍न आग्रह गरेका छन्। ‘इनफ इज इनफ’भन्दै शुक्रबार श्रेष्ठलाई मेन्सन गरेर ट्ववीटमार्फत उनले कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् भन्दै टिप्पणी गरेका छन् ।

उनले पार्टी एकता विरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् भन्ने कामना गरेका छन्। ‘विधी र पद्दतीको नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्! पार्टी एकता विरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस्।’ रिमालले लेखेका छन्,‘मुलुक संवेदनशील मोडमा छ महसूस होस्।’

प्रधानमन्त्री केपी ओलीको कायैशैली र व्यक्तिगत प्रवृत्तिका विरुद्ध अहिले नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले आवाज उठाइरहेका छन्। १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ।

पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद छ। पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ। 

यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्‍न सकेको छैन।

तपाईंको प्रतिक्रिया