बाँकेमा निषेधाज्ञा तीन दिन बढाइयो
नेपालगञ्ज, २३ साउन ।
भेरी अस्पतालमा गरिएकाे परीक्षणमा थप ५१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ५१ मध्ये ४९ जना बाँकेका र एक–एक जना बर्दिया र रुकुमका छन् । भेरी अस्पतालकाे प्रयाेगशालामा ३ सय १२ वटा नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएकाे हो ।
केहीदिन यता बाँकेमा दैनिक ठूलो संख्यामा संक्रमित फेला परिरहेका छन् । आज भेटिएका संक्रमितमध्ये महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका धेरै छन् । बिहीबार मात्रै बाँकेमा २८ जना कोरोना संक्रमित थपिएका थिए ।
संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै समय बढाइरहेको छ। बाँकेमा तेस्रो पटक निषेधाज्ञा तीन दिन बढाइएको छ । गत शनिबारदेखि तीन दिनका लागि लागेको निषेधाज्ञा दोस्रो पटक चार दिन बढाएर शनिबारसम्म पुर्याइएको थियो ।
शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप तीन दिन बढाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मंगलबार रातीसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए ।
तपाईंको प्रतिक्रिया