कोरानाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

 साउन २४, २०७७

काठमाडौँ, २४ साउन ।

नेपालमा कोराना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिलाको शुक्रबार कोरोनाबाट मृत्यु भएको हो । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन शुक्रबार नै उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो । उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

तपाईंको प्रतिक्रिया