भोलिसम्म झरीको सम्भावना भएकाले बाढी र डुबानको जोखिम

 साउन २५, २०७७

काठमाण्डौ, २५ साउन ।

आज र भोलि झरीको संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम बढेको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै उहाँले तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।

अर्का मौसमविद् राजु प्रधानाङ्गकाअनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ । यस्तै राति प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश २ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

आज र भोलि झरी परे पनि पर्सि दिउँसोदेखि भने पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ । यसैबीच कैलाली, कन्चनपुर र बर्दियाको धेरै ठाउँमा निकै ठूलो पानी परेकाले टिकापुर आसपासको क्षेत्र डुबानको उच्च जोखिम परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया