लोकसेवाकै परीक्षामा ‘सेटिङ’ : मिलेमतोको आशंकापछि सहसचिवको लिखित परीक्षाको नतिजा रद्द

 साउन ३०, २०७७

काठमाडौं :लोकसेवा आयोगले सञ्चालन गरेको सहसचिवको परीक्षामै ‘सेटिङ’ रहेको पाइएको छ । नतिजामा चलखेल भएको आधार देखिएपछि आयोगले बिहीबार राजपत्रांकित प्रथम श्रेणी (सूचना प्रविधिविज्ञ)का लागि लिइएको लिखित परीक्षाको नतिजा रद्द गरेको छ । आयोगले यस सम्बन्धमा छानबिन सुरु गरेको छ । 

आयोग स्रोतका अनुसार एक पदका लागि भएको सो विज्ञापनमा १० जनाले लिखित परीक्षा दिएका थिए । जसमा तीनजना उत्तीर्ण भएका थिए । उनीहरूको गत असारमै अन्तर्वार्ता तय भएको थियो । तर, लिखित परीक्षाको नतिजामै मिलेमतोको सूचना आएपछि स्थगित गरिएको थियो । ‘थप छानबिन गर्दा कापी जाँच्ने र परीक्षार्थीबीच मिलेमतोको पर्याप्त आधार देखिएपछि लिखित परीक्षाकै नतिजा रद्द गरेका हौँ,’ आयोगका एक उच्च अधिकारीले भने । यसअघि दरखास्त स्वीकृत भएका उम्मेदवार मात्र सम्मिलित हुने गरी परीक्षा पुनः सञ्चालन गरिने आयोगकी प्रवक्ता गीताकुमारी होमागाईंले बताइन् । 

आयोगले विभिन्न क्षेत्रका विज्ञहरूलाई कापी जाँच्न लगाउने गर्छ । परीक्षामा कोडिङ र डिकोडिङ हुने भए पनि परीक्षार्थीले कापी जाँच्ने विज्ञ पत्ता लगाएको हुन सक्ने आशंका गरिएको छ । परीक्षार्थी र विज्ञ दुवैलाई आयोगले कारबाहीको तयारी गरेको छ । यसअघि छोरीले दिएको लिखित परीक्षाको कापी बुबाले जाँचेको खुलेपछि आयोगले परीक्षा रद्द गरी बुबा–छोरीलाई नै कारबाही गरेको थियो ।

तपाईंको प्रतिक्रिया