नेकपाको सचिवालय बैठक बस्दै

 भदौ ०१, २०७७

काठमाडौं, १ भदौ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । बैठक अहिले बिहान ९ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ । यसअघि सचिवालयकै केही सदस्यहरुले कार्यदलको वैधानिकतामाथि प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गर्न लागिएको हो ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको छ । कार्यदलले शनिबारदेखि नै काम थालिसकेको छ ।

तपाईंको प्रतिक्रिया