सेवा सुविधा माग्दै कर्मचारी, तुलसीपुरमा २ वडाले छुट्याए बजेट

 भदौ ०४, २०७७

तुलसीपुर,४ भदौ ।
तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ को वडा कार्यालयमा गत असार ८ गते वडा समितिको बैठक बस्यो । बैठकले आर्थिक बर्ष २०७७/०७८ को लागि वडाको बजेट सिमा भित्र रही योजना छनौट गरि पठाउने निर्णय गर्यो । उक्त बैठकले ८१ लाख ४० हजार योजना निर्माण तथा कार्यक्रम र ३ लाख ६० हजार वडा कार्यालय ब्यवस्थापनमा बजेट छुट्याउने निर्णय गरि उपमहानगरमा पठायो । वडा समितिले गरेकोे उक्त निर्णयको प्रतिलिपि सहित असार १० गते उपमहानगरमा सिफारीस गरियो ।

वडा कार्यालयले फेरी असार २८ गते वडाध्यक्ष चित्र बहादुर वली र सचिव लक्ष्मी रानाको हस्ताक्षर गरि योजना तथा कार्यक्रमको फेरीस्त उपमहानरमा पठायो । अघिल्लो योजना तथा कार्यक्रम सच्याउदै वडाले सिफारीस गरेको हो । उक्त सिफारीसमा वडा समितिमा भएका निर्णय भन्दा बाहिर गई वडा सचिबको आवास खर्चमा ६० हजार बजेट छुट्याएर पठाईएको छ ।


चालु आर्थिक बर्ष २०७७/०७८ को बजेट बाडफाडका क्रममा वडा सचिव राणाले आवास खर्च छुट्याउन माग गरिन । यद्यपी वडा समितिको बैठकमा छलफल चलेपनि सदस्यहरुको चर्को दवाव पछि यसबारेमा निर्णय हुन सकेन । वडा समितिमा निर्णय नभएपछि वडाध्यक्ष र सचिवले पुन अर्को सिफारीस गरेको बताईन्छ ।

वडा समितिले उपमहागरको योजना शाखामा पेश गरेको योजना तथा कार्यक्रम फरक मितिमा दुई प्रति पेश भएको जनाईन्छ । यद्यपी यसबारेमा योजना शाखाका टेक बहादुर खड्काले भने कार्यालयमा गएर हेरेपछि मात्रै भन्न सकिने बताए । वडा सचिवको आवास खर्चमा छुट्याईएको बजेटबारे वडा सदस्यहरु समेत बेखबर छन ।

वडा समितिको निर्णय विना विनियोजन भएको बजेटबारे पछि थाहा भयो, वडा सदस्य घनश्याम गौतमले भने । वडा समिति बैठकमा यो प्रस्ताव बारे निर्णय नहुदा छुट्याईएको बजेट बारे उनि आश्चर्य प्रकट गर्छन । वडास्तरमा आवास खर्चले ब्यापक रुप लिए सगैं आफुले यसबारेमा कुरा उठाएको सदस्य गौतमले भने । यो शिर्षकको बजेट रकमान्तर गर्ने मौखिक सहमति भाछ ।
यता वडाध्यक्ष चित्र बहादुर वलीले मासिक ५ हजारका दरले दिने गरि बार्षिक ६० हजार छुट्याईएको बताएका छन ।

वडा समितिमा निर्णय नभए पनि केहि छुटेका योजनाका शिर्षक र बजेट सच्याउने अधिकार आफुमा रहेको उनले बताएका छन । यस अघि पनि वडा सचिबको माग बमोजिम कोरोना महामारीको समयमा लक्षित बर्गको लागि छुट्याईएको बजेट रकमान्तर गरि वडाले स्कुटर किनेको छ ।

यस्तै, वडा नम्बर १२ ले पनि वडा सचिवको आवास खर्च भनेर बजेट विनियोजन गरेको छ । वडा समितिको निर्णयअनुसार वडा नम्बर १२ ले बार्षिक ३६ हजार रुपैया बजेट विनीयोजन गरेको वडाध्यक्ष सुर्य बहादुर डाँगी श्यामले जानकारी दिएका छन । वडा सचिव भरत कुमार बुढा मगरको माग बमोजिम वडाले आवास खर्च छुट्याईएको हो वडाध्यक्ष डाँगीले भने । बजेट बारे विवाद तथा बेरुजु आए फिर्ता गर्न सकिने सर्तमा आवास खर्चमा बजेट विनियोजन गरिएको उनले बताएका छन ।

तुलसीपुर उपमहानगरपालीकका हरेक वडाको बजेट ८५ लाख छ । सोहि अनुसार विकास निर्माण र कार्यक्रममा बजेट छुट्याईएका छ । तर वडा स्तरको बजेटबाट सेवासुविधा दिन कर्मचारीको आवास खर्चमा बजेट विनियोजन गर्दा नागरीकहरुले भने आलोचना गर्न थालेका छन ।

तपाईंको प्रतिक्रिया