कुलमानको कार्यकाल थपिएको हल्ला चलेपछि ….

 भदौ ०९, २०७७

काठमाण्डाै,९ ।

मङ्गलबार बेलुका पाँच बजेपछि सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप भएको बारे निकै हल्ला भयो । मन्त्रिपरिषदकाे बैठकले कुलमान घिसिङको कार्यकाल चार वर्ष थपेको भन्दै ट्विटर र फेसबुकमा बधाई दिनेको ओइराे लाग्यो । प्रतिष्ठित व्यक्तिहरुले पनि कुलमानलाई बधाई दिइरहेका थिए । केही सञ्चारमाध्यमले पनि घिसिङको कार्यकाल थप भनेर समाचार लेखे ।

तर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा दोहोर्‍याउनेबारे मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव नै पुगेको थिएन । कुलमानको विषय मन्त्रिपरिषद्काे आजको एजेन्डा नै थिएन । २९ गते कार्यकाल सकिने कुलमानको बारेमा मन्त्रिपरिषदमा प्रस्ताव नै नजाँदै समय थपिएको खबर भाइरल भएपछि मन्त्रीहरु नै छक्क परेका छन् ।

कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । भदौ २१ गतेअघि नै कार्यकाल सकिन लागेका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाको निर्णय नगरेको सरकार २९ गते कार्यकाल सकिने घिसिङको कार्यकाल थप्ने हतारोमा छैन । हरेक हप्ता दुई वटा मन्त्रिपरिषद्का बैठक बस्छन्, यस हिसाबले २९ गतेसम्म ६ वटा मन्त्रिपरषद्का नियमित बैठक नै बस्ने छन् । ६ वटा बैठकअघि नै कुलमानको बारेमा नियुक्ति गर्न सरकारलाई कुनै हतारो नै देखिन्न ।

तपाईंको प्रतिक्रिया