सुशान्त मृत्यु प्रकरण: रियासँग सीबीआईको सोधपुछ

 भदौ १४, २०७७

भदौ ,१४ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा सीबीआईले रिया चक्रवर्तीसँग लगातार तेस्रो दिन सोधपुछ गरेको छ । सुशान्तकी प्रेमिका भनिएकी रिया आफ्ना भाइ शोविक चक्रवर्तीका साथमा सान्ताक्रुजमा डीआरडी गेष्ट हाउस पुगेकी छन्। जहाँ सीबीआईको अनुसन्धान टोली बसिरहेको छ ।

भारतको सर्वोच्च अदालतले सुशान्त मृत्यु प्रकरणमा अनुसन्धान गर्न आदेश दिएपछि सीबीआईको टोली १० दिनअघि मुम्बई पुगेर अनुसन्धान सुरु गरेको थियो। सीबीआईले शनिबार रियासँग करिब सात घण्टा सोधपुछ गरेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रियाका भाइ शौविकसँग सीबीआईले सोधपुछ गरेको छ।

यसअघि सीबीआईले सुशान्तका साथी सिद्धार्थ पिठानी, कुक नीरज सिंह लगायतसँग सोधपुछ गरिसकेको छ। सोधपुछको क्रममा पिठानीले सुशान्तको क्रेडिट कार्डमा रियाको पहुँच रहेको बयान दिएका थिए। रियामाथि सुशान्तलाई आत्महत्याका लागि बाध्य पारिएको आरोप छ। सुशान्तका बुवा केके सिंहले रियाले आफ्नो छोरालाई मर्नका लागि बाध्य पारेको र करोडौँ रुपैयाँ हडपेको भन्दै पटना पुलिसमा रियाविरुद्ध उजूरी दर्ता गराएका थिए।

सिंहले आफूलाई मुम्बई पुलिसमाथि विश्वास नभएको बताएका थिए। उक्त केस सीबीआईको हातमा जानुअघि अनुसन्धान गरिरहेको मुम्बई पुलिसले पटना पुलिसलाई अनुसन्धानका लागि असहयोग गरेको थियो। सुशान्त मृत्यु प्रकरणमा सीबीआईले अनुसन्धान गर्नुपर्ने माग उठ्दै आएको थियो।

तपाईंको प्रतिक्रिया