काठमाडौंमा आज इन्द्र जात्रा मनाइँदै

 भदौ १६, २०७७

काठमाण्डौं,१६ भदौ ।
काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष बसन्तपुर दरबार क्षेत्र जाने प्रचलन रहीआएको छ ।

तर, यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएकाले इन्द्र जात्राको उल्लास छैन ।

तपाईंको प्रतिक्रिया