सुशान्त प्रकरण: उनकै दिदीविरुद्ध उजुरी दर्ता

 भदौ २३, २०७७

भदौ, २३ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको घटनाले नयाँ मोड लिएको छ । मुम्बई प्रहरीले सोमबार अबेर राति अभिनेता राजपूतकी दिदीविरुद्ध उजुरी दर्ता भएको जानकारी दिएको छ । समाचार संस्था एएनआईका अनुसार रिया चक्रवर्तीको उजुरीमा राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डा. तरुण कुमारसहितका विरुद्ध आइपीसी र एनडीपीएस कानून अनुसार मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दर्ता भएको हो ।

बान्द्रा प्रहरीले आत्महत्याका लागि उक्साउने, जालसाजी–धोका तथा आपराधिक योजना बनाएको अभियोगसहितको उजुरी दर्ता गरेको हो । सोमबार रिया चक्रवर्तीले बान्द्रा प्रहरी चौकी गएर लिखित रुपमा उजुरी दिएकी थिइन् ।

सुशान्तकी दिदी प्रियंका र डा. तरुण कुमारले गलत प्रेस्किप्सन बनाएको तथा टेली मेडिसिनको गाइडलाइन उल्लंघन गरेको अभियोग रिया चक्रवर्तीले लगाएकी छन् । आरोप पत्रमा रियाले जुन ८ मा सुशान्तले दिदी प्रियंकासँग म्यासेजमार्फत भएको कुराकानी देखाएको र त्यसमा प्रियंकाले केही औषधि लिन सुझाव दिएकी थिइन् ।

रियाका अनुसार आफूले सुशान्तलाई सो औषधि नभई डाक्टरले सुझाएको औषधि नै खान मनाउने प्रयास गरेको बताएकी छन् । प्रियंका स्वास्थ्यकर्मी नभएकाले सो औषधि नखान आफूले भनेको रियाले उल्लेख गरेकी छन् ।

प्रियंकाले डा. तरुण कुमारको सहयोगमा गलत प्रिस्किप्शन बनाएको रियाले आरोप लगाएकी छन्। त्यसपछि आफू र सुशान्तबिच मतभेद भएको बताउँदै उनले सुशान्तले आफूलाई घर छोडेर जान भनेको पनि उल्लेख गरेकी छन् ।

सुशान्तको निधन केशमा रिया चक्रवर्ती आफै अभियुक्त हुन् र यस सम्बन्धमा सीबीआईले अनुसन्धान गरिरहेको छ । यसैगरी नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पनि अनुसन्धान गरिरहेको छ ।

गएको जुन १४ मा सुशान्त सिंह राजपूत मुम्बईस्थित घरमा मृत फेला परेका थिए । मुम्बई प्रहरीले उनले आत्महत्या गरेको बताएको छ । तर सुशान्तका पिताले आत्महत्या नभई हत्या भनेर उजुरी दर्ता गरे । बिहार सरकारको सिफारिशमा सीबीआईले अनुसन्धान थालेको हो ।

तपाईंको प्रतिक्रिया