काठमाण्डौमा आजदेखि निषेधाज्ञा खुकुलो

 भदौ २५, २०७७

काठमाण्डौ,२५ भदौ ।
काठमाण्डौ उपत्यकामा तीन हप्तादेखि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट र गृह(मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा भौतिक दूरीको पूर्ण पालना गर्न आग्रह गर्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था गरेका हुन्।

नागरिकको जीविका सहज बनाउन भन्दै आवश्यक मापदण्ड तयार पारेर उद्योग, कलकारखाना, व्यापार व्यवसायदेखि निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय भएको हो । आज बिहीबारदेखि स्वास्थ्य मापदण्डको पालनासँगै भौतिक दूरी कायम राखी जोर(बिजोर प्रणालीबाट निजी तथा सार्वजनिक गाडी सञ्चालन गर्न पाइनेछ ।

१६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक गाडीमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइनेछ भने गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ । त्यस्तै भाडाका ट्याक्सीमा चालकसहित बढीमा तीन जना र परिवार भित्रकै बालबालिका भएमा थप दुई जनासम्म लैजान सकिनेछ ।

अत्यावश्यक तथा खाद्यान्न, तरकारी, फलफूल र माछामासु लगायत मालबाहक तथा ढुवानीका गाडीलाई जोर(बिजोर प्रणाली लागू हुनेछैन । यस्ता गाडीले चालक र सहयोगी सहचालक बाहेक अन्य व्यक्तिलाई बोक्न पाउने छैनन् । उपत्यकामा सञ्चालित खाद्यान्न थोक तथा किराना, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा(मासुलगायत पसल बिहान ५(११ बजेसम्म र साँझ ५(७ बजेसम्म खोल्न पाउने व्यवस्था लागू गरिएको छ ।

भौतिक पूर्वाधार तथा विकास निर्माण सामग्री, पसल तथा व्यवसायलगायत ढुवानीका गाडी दिउँसो २ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

तपाईंको प्रतिक्रिया