अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

 भदौ २६, २०७७

काठमाडौं, २६ भदौ

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्ताव पारित गर्दै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले बिवाद समाधान कार्यदलको सुझावअनुसार अध्यक्षद्वय ओली र प्रचण्डले तयार पार्नुभएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै सकिएको हो ।

गत असार १० गते सुरु भएको नेकपाको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको थियो । पछिल्लो पटक साउन १३ गते तय गरिएको बैठक स्थगित भएपछि आज पहिलो पटक बसेको हो । यसबीचमा पार्टीभित्रको बिवाद समाधानका लागि अध्यक्षद्वय ओली र प्रचण्डले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय विवाद समाधान कार्यदल गठन गर्नुभएको थियो । साउन ३० गते गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।

कार्यदलले प्रतिवेदन बुझाएपछि बिहीवार मात्रै अध्यक्षद्वय ओली र प्रचण्डले स्थायी कमिटी बैठकका लागि साझा प्रस्तावलाई अन्तिम रुप दिनुभएको थियो । सो प्रस्तावलाई आज बसेको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

अध्यक्षद्वयको प्रतिवेदन पारित भएसँगै दुई अध्यक्षको कार्यबिभाजन भएको छ भने अव नेतादेखि साधरण सदस्यसम्म कडा अनुशासनमा बाँधिनुर्पे भएको छ । अव सामाजिक सञ्जालमा आफ्नो आक्रोश जथाभावी पोख्न पाइने छैन ।

तपाईंको प्रतिक्रिया