सहुलियत मूल्यको पसल सञ्चालनको गृहकार्य

 असोज १२, २०७७

काठमाडौं ।

निजी क्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैंलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यका भित्र १० वटासहित थप सहुलियत पसल सञ्चालनको प्रारम्भिक समझदारी बनेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । यस्तै खाद्य र साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सहुलियत पसल सञ्चालको निर्णय र मोडालिटी भने सोमबार तय हुने कम्पनीका प्रमुख कार्याकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए । यसका साथै दुग्ध विकास संस्थाले पनि संयुक्तरुपमा सहुलियत पसल सञ्चालन गर्न समझदारी हुन सक्ने कम्पनीले जनाएको छ ।

सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइने छ । गतवर्ष दशैं चाडै भएका कारण भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो ।

गत वर्ष उपत्याकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थाले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालनमा आएको थियो । दशैंअघि सञ्चालनमा आउने सहुलियत पसल छठपछि मात्रै बन्द हुन्छ ।

तपाईंको प्रतिक्रिया