सरकार र डाक्टर केसी पक्षबीच वार्ताको तयारी

 असोज २२, २०७७

काठमाण्डौ ।

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच आज वार्ता हुने भएको छ । हिजो दुवैपक्षले वार्ता टोली गठन गरेलगत्तै आज छलफलमा बस्ने तयारी भएको हो । तर समय भने तय भैसकेको छैन। सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले आफू दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि बैठक बस्ने योजनामा रहेको बताउनुभयो । 

डाक्टर केसी पक्षका संयोजक डाक्टर जीवन क्षेत्रीले जतिसक्दो छिटो छलफलमा बस्न सरकारलाई आग्रह गरिएको बताउनुभयो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्य रहेको टोली गठन गरेको हो । 

यस्तै डाक्टर केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डाक्टर अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेको टोली गठन भएको छ । डाक्टर केसी अनसनमा बसेको आज २५ दिन पुगिसकेको छ । उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सानुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारका विषयमा विभिन्न ६ बुँदे माग राख्दै डाक्टर केसी १९ औं पटक अनसन बस्नुभएको हो । उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।

उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनसन सुरु गर्नुभएको थियो । उहाँलाई पछि काठमाण्डौ ल्याइएको हो ।

तपाईंको प्रतिक्रिया