त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

 कार्तिक १९, २०७७

काठमाडौँ  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षाकेन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षाकेन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षाकेन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायक पर्ने परीक्षाकेन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताउनुभयो ।    
    
यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षाकेन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षाकेन्द्र रोज्न पाउनेछन् । सोही परीक्षाकेन्द्रबाट परीक्षा दिने छन् । त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरेको छ । “हामीले परीक्षाकेन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षाकेन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो, “परीक्षा दिनका लागि अब काठमाडौँ आउनुपर्दैन । आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउनेछन् ।”    
    
उहाँले प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेक्ने व्यवस्था गरिएको बताउनुभयो । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ । रजिष्ट्रार डा दाहालले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने बताउनुभयो । त्रिविको वार्षिक परीक्षा पनिका र सेमेष्टर परीक्षा डीन कार्यालयले लिनेछन् ।    

तपाईंको प्रतिक्रिया