श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

 कार्तिक २०, २०७७

सल्यान ।
सल्यान प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई उनकै श्रीमतीले हत्या गरेको आरोपमा ४३ वर्षीया ईश्वरी कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

हिजो बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको आज जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता, प्रहरी निरिक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कुनै सन्तान नभएको र जग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृतकका बुवाले किटानी जाहेरीमा उल्लेख गरेका छन् । ती महिलालाई पक्राउ गरेर जिल्ला अदालत सल्यानबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईंको प्रतिक्रिया