बजार अनुगमनमा म्याद गुज्रेका सामान बरामद

 कार्तिक २८, २०७७


ओमप्रकाश गुप्ता, कार्तिक ।

तिहार र छठ पर्वलाई लक्षित गरी राप्ती गाउँपालिका क्षेत्रका बजारको अनुगमन गरेको छ । बुधबार दुई छुट्टाछुटै अनुगमन समितिले भालुवाङ, पिपरी र बिजौरी बजारका ५४ वटा पसलको अनुगमन गरेको हो । चाडपर्वका समयमा हुन सक्ने कालो बजारी तथा कृत्रिम अभाव र कोरोना महामारीका बेला अपनाइने स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको बिषयमा अनुगमन गरेको हो ।

ती बजार क्षेत्रमा रहेका खाद्यान्न तथा किराना पसल, होटल, कस्मेटिक तथा व्युटीपार्लर, मिठाई तथा डेरी पसल, मासु पसल, ठेला व्यापार गरि ५४ वटा पसलहरुको अनुगमन गरिएको छ ।
जसमा राप्ती गाउँपालिका वडा नम्बर १ को भालुवाङ बजार, वडा नम्बर ८ को पिपरी र बिजौरी बजार क्षेत्रमा रहेका पसल तथा व्यवसायीहरुको अनुगमन गरिएको बजार अनुगमन समितिका संयोजक नारायण राउत र बासुदेव खनालले जानकारी दिएका छन् । अनुगमनका क्रममा भालुवाङ बजारको रिजाल खाद्य तथा किराना पसलबाट म्याद गुज्रेको १८ पिस विस्कुट, ४ पिस भुजा मरामद गरिएको अनुगमन समितिका भालुवाङ संयोजक नारायण राउतले जानकारी दिएका छन् । यस्तै पिपरी बजारको सुनिता कुमारी चौधरीको कष्मेटिक पसलबाट म्याद गुज्रेको फेसवास, फेसग्रिन लगायतका समान, बर्षा किराना एण्ड फलफूल, कष्मेटिक पसलबाट म्याद गुज्रेको चाउचाउ, मसला, सावुन लगायतका समान, विनु एण्ड विक्रम टेर्लस कष्मेटिक पसलबाट म्याद गुज्रेको कष्मेटिकका समान र बिजौरी स्थित ज्ञवाली किराना पसलबाट म्याद गुज्रेको ३ बोरोप्लस बरामद गरेको अनुगमन समितिका संयोजक बासुदेव खनालले जानकारी दिएका छन् । त्यसै गरी अनुगमनका क्रममा अधिकाशं किराना तथा खाद्य पसलमा मूल्य सुची नराखेको, केही व्यापारीहरुले सामाजिक दुरी कायम नगरेको तथा पसल सञ्चालकले मास्क प्रयोग नगरेको, सावुनपानीले हात धुने व्यवस्था नमिलाएको, दुवै बजार क्षेत्रका अधिकाशं व्यापारी तथा व्यवसायीले गाउँपालिकामा फर्म दर्ता तथा नविकरण नगरेको, केही होटलहरुमा सरसफाईको कमी रहेको पाइएको छ ।
भालुवाङ बजार अनुगमनका संयोजक नारायण राउत र पिपरी बजार अनुगमनका संयोजक बासुदेव खनालको अगुवाईमा भएको बजार अनुगमनमा जनप्रतिनीधि, उद्योग वाणिज्य संघका प्रतिनीधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र गाउँपालिकाका कर्मचारीहरु सहभागिता रहेको थियो ।

अनुगमनको सुपरिवेक्षकमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल रहेका थिए ।

तपाईंको प्रतिक्रिया