नेपालमा कोरोना विरुद्धकाे खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने

 मङि्सर ०३, २०७७

काठमाण्डाै ।

नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन् । खोप निर्माणमा सफलता मिल्दै गएको विभिन्न खोप निर्माता कम्पनीहरुले दाबी गरे पनि सबै परीक्षण सकिएर नेपाल आउन भने अझै कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो ।

अमेरिकाको बायो टेक्नोलोजी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि थप आशा बढाएको छ । तर नेपालमा यसको प्रभाव र खोप ल्याउने प्रक्रिया कस्तो हुन्छ भन्नेमा भर पर्ने डाक्टर राजभण्डारीले बताउनुभयो । विभिन्न अध्ययनअनुसार ‘सार्स कोभ-२’ म्युटेड भएर ६ किसिमको देखिइसकेको छ ।

अर्थात् एउटै भाइरस छुट्टिएर केहीले गम्भीर र केहीले सामान्य लक्षण देखाउने ट्रेन्ड देखिएको छ । भाइरसको ‘आरएनए’ ठाउँ र मौसमअनुसार फरक हुन सक्छ । त्यसैले एक ठाउँमा बनेको खोप अर्को मौसम र ठाउँमा प्रभावकारी नहुन पनि सक्ने उहाँको भनाइ छ । तर, कोभिड-१९ विरुद्ध निर्माणाधीन खोपहरूलाई भाइरसअनुसार म्युटेट नहुने खालको बनाइएको भनिएको छ ।

त्यसकारण खोप प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । तर अहिलेसम्म प्रयोगमा नआएकाले यकिनका साथ भन्न सकिने अवस्था भने नभएको डाक्टर राजभण्डारीले बताउनुभयो । अमेरिकालगायत देशमा कोरोना भाइरस सङ्क्रमणको दर तीव्र गतिमा फैलिरहेको छ ।

जाडो मौसममा कोराना सङ्क्रमण अझ बढ्न सक्ने विज्ञले बताउँदै आएका छन् । अहिले अमेरिकालगायतका देशमा प्रभावकारी देखिएको खोप नेपालमा जनवरी वा फेब्रअरीसम्म आइपुगे पनि महामारी नियन्त्रणमा प्रभावकारी हुने देखिन्छ । तर १,२ महिनामै खोप आउने सम्भावना नै नभएको डाक्टर भण्डारी बताउनुहुन्छ ।

तपाईंको प्रतिक्रिया