छठ पर्वको समापन

 मङि्सर ०६, २०७७

तुलसीपुर ।

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।

सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ। नोबेल कोरोना भाइरसको महामारीका कारण यो वर्ष अधिकांश भक्तजनले आफ्नै घरमा कुण्ड बनाएर छठ मनाएका छन् भने तराईका कतिपय जिल्लामा भने नदी, तलाउमा भीड गरेर मनाइएको छ । छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो ।

छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

तपाईंको प्रतिक्रिया