पीएसजीको जीतमा नेयमारको दुई गोल

 मङि्सर १८, २०७७

नेयमारको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले म्यान्चेस्टर युनाइटेडलाई उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित गरेको छ । यो सिजन युनाइटेडले घरेलु मैदानमा हारेको यो चौथो खेल हो । खेलको छैटौँ मिनेटमा नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा मार्कस रासफोर्डले खेल बराबरी गरे । तर, दोस्रो हाफमा मिडफिल्डर फ्रेड दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडन् बाध्य बनेपछि युनाइटेड १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए ।

इन्जुरी समयमा नेयमारले च्याम्पियन्स लिगमा ३८ औँ गोल पुरा गरेपछि पीएसजी ३–१ ले विजयी बन्यो । समूहको अर्को खेलमा आरबी लेइपजीगले इस्तानबुल बासाकसेहिरमाथि ४–३ को रोमाञ्चक जीत हासिल गर्यो । समूह एचमा पीएसजी, युनाइटेड र लेइपजीगको समान ९ अंक रहेको छ । अब अर्को चरणमा छनौटका लागि युनाइटेडले जर्मन टोलीसँग अन्तिम खेलमा बराबरी गरे पुग्छ ।

तपाईंको प्रतिक्रिया