पुस देखि घर नक्सा पास अनलाईनबाट

 मङि्सर २८, २०७७

तुलसीपुर ।

डिजिटल तुलसीपुरको अभ्यास गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले पुस १ गतेबाट अनलाईन नक्सा पासलाई अगाडी वढाउने भएको छ । अनलाईन सेवा आरम्भका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सेवाग्राहीले कार्यालयमा नगएरै यस्तो सेवा लिनसक्ने जनाइएको हो ।

घर निर्माण गर्ने व्यक्तिले कुनै पनि कन्सल्टेन्सीबाट घरको डिजाइन गरेर अनलाईबाट रजिष्ट्रेशन गर्नेछ, कार्यालयमा अनलाइनबाटै प्राविधिकले त्यसको प्राविधिक पक्षका बारेमा अध्ययन गर्नेछ, त्यसपछि अनलाईनबाटै डिजिटल फाइल तयार भएर वडामा जानेछ, वडाबाट त्यहाँको इन्जिनियरले फिल्डको अध्ययन गरेपछि राजश्व तिरेर घर नक्सा पासको फाइल लैजान सकिने इन्जिनियर अखिल पोख्रेलले जानकारी दिए ।

अनलाईन सेवा सूचारुका लागि सबै तयारी पुरा भएको भन्दै इन्जिनियर पोख्रेलले कागजात बोकेर कार्यालयमा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य भएको वताए । ‘कार्यालयमा नटेकेरै सेवाग्राहीले सेवा लिन सक्नेछन्’ उनले भने । युएनडिपीको सहयोगमा सफ्टवेयर तयार पारिएको पनि उनले जानकारी दिए । अनलाईनबाट सेवा सुचारु भए नक्सापासको काम पारदर्शी हुने पनि उनको भनाई थियो । सफ्टवेयरलाई कार्यालयका कर्मचारी या सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि चलाउन सकिने भएकाले सहज भएको उनले वताए । ‘कहिलेकाही कामको चाप भएको बेलामा घरबाट पनि काम गर्न सकिन्छ’ पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

घर निर्माणका लागि आवश्यक पर्ने कन्सल्टेन्सी र तालिमप्राप्त मिस्त्रीको बारेमा पनि सफ्टवेयरमा जानकारी राखिएको उनले वताए । ‘हामीकहाँ निकै कम कन्सल्टेन्सीहरु छन् यो संख्या वढाउन सके राम्रो हुने देखिन्छ’ उनले भने । सफ्टवेयरको प्रयोग गर्दा सेवाग्राहीले कहाँनेर र किन काम रोकिएको छ भन्ने बारेमा घरमै बसेर जानकारी पाउँन सक्ने समेत उनले वताए ।
स्मार्ट सिटीको अवधारणा पुरा हुँदैछः प्रमुख पाण्डे
पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर स्मार्ट सिटीको अवधारणाबाट अगाडी वढिरहेको वताए । उनले केही समय अगाडी कार्यालयलाई क्यासलेस वनाएको जानकारी दिदै पेपरलेस वनाउनका लागि काम अगाडी वढिरहेको जानकारी दिए । उनले अनलाईन सेवाले अनावश्यक ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य भएको समेत जानकारी दिर्द घर नक्सापासको मापदण्डका बारेमा कडाई गरिरहेको वताए ।

अनलाईन सेवा सुरु भएसँगै मापदण्डमा थप कडाइ हुने कुरामा उनको जोड थियो । अनलाईन सेवाले तुलसीपुरको शासनप्रणाली सुधारमा भुमिका खेल्ने उनको विश्वास थियो । लुम्बिनी प्रदेशमा पहिलो पटक तुलसीपुरले घर नक्सा पास सेवा अनलाईनबाट सुरु गर्ने तयारी गरिरहेको भएपनि विविध कारणले बुटवल पछि दोस्रो भएको समेत वताए । तुलसीपुरले देशकै नमुनाका रुपमा विविध कठिनाई हुँदा पनि घटना दर्ता र राजस्व तिर्ने कुरालाई अनलाईन गरेको समेत उनले वताए ।

पत्रकार सम्मेलनमा नेकपाका मिनराज भण्डारी, नेपाली काँग्रेसका प्रमोद वस्नेत, राप्रपाका छोटिलाल चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नगर प्रवक्ता सुर्यवहादुर डाँगीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया